काश्यप गोत्रीय हामी “घिमिरे” बन्धुहरु काश्यप ऋषिका सन्तान भएको कुरा मानिदै आएतापनि “घिमिरे” थर कसरी रह्यो भन्ने सन्दर्भमा विभिन्न कथनहरू रहेका छन् । उज्जैनमा “व्यास” थरले चिनिएका पुर्खाहरु मुसलमानको दबावका कारणले आफ्नो धर्म, संस्कृती, रितीरिवाज, चालचलन आदि छोड्न नसकि उत्तराखण्डको बाटोबाट नेपालको पश्चिमी भू–भाग तिर पर्ने अल्मोडा, कुमाऊँ हुँदै बाट सिंजा क्षेत्र तिर बसोवास गर्दा जोशी, लगाएत अन्य विभिन्न थरहरुबाट परिचित भएका र बिभिन्न कारणले विचरणको शिलशिलामा पूर्वतर्फ लाग्दै गर्दा गुल्मीको घमिरमा आई बसोबास गर्न थालेपछि "घमिरे" शब्द अप्रभंश भई “घिमिरे” थर कहलिएको भन्ने एकथरी भनाई छ भने लमजुङको बाहुनडाँडा पुस्तुन स्थित “घेर्मु” वा कालिकोटको “घेरुङ” मा बसोवास गर्न थालेपछि अपभ्रंश भई “घिमिरे” थर कायम हुन आएको भन्ने किंम्बदन्ती पनि रहेको पाइन्छ । यी बिभिन्न कथनहरुको सत्य तथ्थवारे खोजविन र अनुुसन्धानको अभिलाषा र प्रयास प्रायः सबै क्षेत्रका घिमिरेबन्धुहरुबाट भए गरेको पाइन्छ ।
यसरी विभिन्न स्थानमा छरिएर रहेका काश्यप गोत्रीय घिमिरेबन्धुहरुको ऐतिहासिक, धार्मिक–सांस्कृतिक, सामाजिक अवस्थाको खोजबिन, अध्ययन र अनुसन्धान समन्वयात्मक रुपमा गर्न तथा सबै बन्धुहरुको वंशावली तयार गराई एकीकृत बंशावली प्रकाशन समेतका कार्यमा समन्वय गरी विश्व भरी छरिएर रहेका घिमिरेबन्धुहरुलाई एकबद्ध गरी सहकार्य गर्ने अभिप्रायले घिमिरेसँग सम्बन्धित विभिन्न प्रतिष्ठान, परिषद्, समाज, समूह, समिति वा संस्थाहरुलाई राष्ट्रिय रुपमा आबद्ध गरी छाता संगठनको रुपमा (महासंघको) कार्य गर्ने संस्थाको आवश्यकता महशुस भएकोले संस्था दर्ता ऐन २०३४ अनुसार “घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान” (Ghimire Bandhu National Foundation) नामको यो संस्था दर्ता गरी सञ्चालन गरिएको हो ।
Learn More